१४ गते बनारसी धाम मेला: जहाँ दलित - गैरदलित एउटै प्रसादमा जोडिन्छन्
बैतडी: बैतडीको पाटन नगरपालिका ३ गुजर स्थित प्रसिद्ध बनारसी धाम मन्दिरमा माघ १४ गते विशेष पूजाआजा सहित जात्रा तथा मेला आयोजना हुने भएको छ। हरेक वर्ष माघ शुक्ल पक्षको दशमीका दिन लाग्ने यस जात्राको तयारी माघ शुक्ल प्रतिपदादेखि नै सुरु भइसकेको छ।
परापूर्वकालदेखि निरन्तर चल्दै आएको यस जात्रामा दलित समुदायका पुजारीद्वारा पूजा सम्पन्न गर्ने परम्परा रहिआएको छ। पूजा सम्पन्न भएपछि सबै समुदायका दर्शनार्थीले दलित पुजारीकै हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने चलन रहेको छ। यस प्रचलनलाई जातीय विभेद अन्त्य र सामाजिक समानताको सशक्त सन्देशका रूपमा लिइन्छ।
धार्मिक सहिष्णुता र आपसी सद्भावको उदाहरण मानिने बनारसी धाममा दलित समुदायले पूजा गरेपछि मात्रै देवता प्रसन्न हुने जनविश्वास रहिआएको छ। यही कारणले गैरदलित समुदायका श्रद्धालुहरूले पनि बिना कुनै संकोच पूजा सामग्री चढाउने र प्रसाद ग्रहण गर्ने गर्दछन्। यहाँ दलित र गैरदलितबीच कुनै किसिमको भेदभाव नहुने परम्परा रहेको छ।
पुरानो किम्बदन्तीअनुसार द्वापर युगमा खपरे नामक दैत्य र देवताबीच घमासान युद्ध भएको र सोही क्रममा शक्तिशाली देवता बनारसीले दैत्यलाई पराजित गरी नजिकैको तलाउमा लगी वध गरेको विश्वास गरिन्छ। उक्त घटनापछि देवताहरूको सभाबाट रगत पिएको कारण बनारसी देवतालाई दलित घोषणा गरिएको र त्यसै दिनदेखि बनारसी धामका धार्मिक कार्य तथा पूजाआजा दलित समुदायबाट सञ्चालन हुँदै आएको जनश्रुति छ।
त्यसै किम्बदन्तीअनुसार शक्तिशाली देवताहरूले एकै थालमा भोजन गर्ने बाँचा गरेका र बनारसी देवतालाई दलित घोषणा गरिएपछि केराको पातमा सँगै भोजन गरिएको विश्वास रहिआएको छ। यही कारणले आजसम्म केराको पातको बीच भागमा डण्डी देखिने गरेको जनविश्वास पनि जोडिएको छ।
जात्रा तथा मेलामा पाटन नगरपालिकासहित आसपासका पालिका, जिल्ला तथा टाढाटाढाबाट चिनोबानो सहित हजारौँ भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ। यस मेलालाई सुरगंगा तथा बाइसताल सहस्रलिंग विशेष स्नान मेलाका रूपमा पनि चिनिने गरिन्छ।
मेलाको दिन धार्मिक मर्यादा कायम राख्न मदिरा सेवन, बिक्रीवितरण तथा जुवातास खेल्ने र खेलाउने कार्य पूर्ण रूपमा निषेध गरिएको छ। नियम उल्लङ्घन गर्ने उपर कानुनअनुसार कारबाही गरिने जनाइएको छ।
१२औँ शताब्दीदेखि निरन्तर लाग्दै आएको बनारसी धामको जात्रा धार्मिक आस्थासँगै सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त्यको प्रतीकका रूपमा स्थापित हुँदै आएको छ।
Comments
Post a Comment