बैतडीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना, ४ जना घाइते

बैतडी, चैत ७, बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं. ८ झ्याउलेक स्थित जयपृथ्वी राजमार्गमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार आज बिहान करिब २:१५ बजेको समयमा नेपालगञ्जबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ख २८०९ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब २०/२५ मिटर तल खसेको थियो।
दुर्घटनापछि स्थानीयवासीले २:२० बजे प्रहरी चौकी खोडपेमा खबर गरेका थिए। खबर प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक उदय खडायतको कमाण्डमा ४ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो र करिब २:५५ बजे घटनास्थलमा पुगेको थियो।
दुर्घटनामा परी ट्रकमा सवार निर्मला बिष्ट (२५) को टाउकोमा मध्यम चोट लागेको छ भने उनका छोरा अबिषेक बिष्ट (७) को टाउको र पाखुरामा मध्यम चोट लागेको छ। त्यस्तै अर्का छोरा प्रियान्स बिष्ट (४) सामान्य अवस्थामा रहेका छन्। ट्रक चालक कृष्ण बिष्ट (३६) को निधारमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। दुर्घटनाका कारण सडक अवरुद्ध नभएको र ट्रक घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
उक्त स्थान प्रहरी चौकी खोडपेबाट करिब आधा घण्टा उत्तरतर्फ पर्ने बताइएको छ।

Comments

Popular posts from this blog

बसबाट खसेर बैतडीमा एक वृद्धको मृत्यु

बैतडीमा बुधबार जीप दुर्घटना, १२ घाईते ३ गम्भीर