सुर्नया गाउँपालिकामा ३३ दिनदेखि तालाबन्दी जारी, वार्ताका चार चरण निष्फल — जनता बोल्न थाले
बैतडी, कार्तिक २७ — बैतडीको सुर्नया गाउँपालिकामा जारी तालाबन्दी ३३ दिन नाघिसक्दा पनि कुनै समाधान नदेखिएपछि स्थानीयवासीमा आक्रोश बढ्दै गएको छ। जेनजी युवा समूहको अगुवाइमा गत असोज २४ गतेदेखि सुरु भएको तालाबन्दी अझै कायम छ, जसले गाउँपालिकाका सम्पूर्ण प्रशासनिक कार्य ठप्प बनाएका छन्। गाउँपालिकाले मागअनुसार सूचना उपलब्ध नगराएको भन्दै जेनजी समूहले तालाबन्दी थालेको थियो। समूहका अगुवा विशाल भट्टका अनुसार, गाउँपालिकालाई राखिएको ११ बुँदे मागको कार्यान्वयनमा कार्यपालिका एकमत नहुँदा समस्या झन् गहिरिँदै गएको हो। “हामीले जनहितका लागि माग गरेका हौं, तर पालिकाले बेवास्ता गरेको छ,” उनले भने। गत एक महिनाभित्र जेनजी समूह र गाउँपालिका प्रतिनिधिबीच चार पटक औपचारिक वार्ता भए पनि कुनै ठोस निष्कर्ष निकाल्न सकिएको छैन। गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले करार कर्मचारी हटाउने मागका कारण सेवा प्रभावित हुने भन्दै सावधानीपूर्वक कदम चाल्नुपर्ने बताएका छन्। “हामी छलफलमै समाधान खोज्दैछौं, वार्ताबाट निकास निस्कनेमा आशावादी छौं,” उनले भने। यता गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले भने संघीय सरकारले केही कर्म...