बसबाट खसेर बैतडीमा एक वृद्धको मृत्यु
बैतडी, माघ २९ — बैतडीमा चलिरहेको बसको ढोकाबाट खसेर एक वृद्धको मृत्यु भएको छ। महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२–००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका अन्दाजी ६८ वर्षीय पदमराज भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दशरथचन्द राजमार्ग अन्तर्गत दशरथचन्द नगरपालिका–१ गुरुखोलास्थित मोडमा बिहीबार साँझ करिब पौने ५ बजेतिर बसको ढोकाबाट खस्दा भट्ट गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तका अनुसार मृतकको टाउकोमा गम्भीर चोट लागेको थियो र कानबाट अत्यधिक रगत बगेको पाइएको छ। सोही कारण उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनापछि बस र बस चालक दशरथ महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।





















Comments
Post a Comment