आज २०४ औ भानु जयन्ती
सुनित भट्ट बैतडी, नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको दुईसय चारऔ जन्मजयन्ती आज नेपाल र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेको अध्यक्षतामा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति गरी मुलुकका विभिन्न भागमा भानुजयन्ती मनाइरहेको छ। समितिले आइतबार नैसमितिको गरिमामय उचाइ अभिवृद्धिका लागि समर्पित भएर सेवा गरेबापत विभिन्न व्यक्तित्वलाई 'भानुभक्त स्वर्णपदक' समर्पण गर्दैछ।
भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा संास्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पुर्याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मिएका आचार्यले 'अध्यात्मरामायण'को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए। उनका 'प्रश्नोत्तर' ( १९१०), 'भक्तमाला' ( १९१०) 'वधूशिक्षा' ( १९१९), 'रामगीता'(१९२५) तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन्।
आचार्यले लेखेका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगत्मा चिनाएका हुन् ।
नेपाली समाजमा एकै पल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्यलगायत विषयलाई समन्वय गर्नुभएका आचार्य मूर्धन्य व्यक्तित्व भएको नेपाली केन्द्रीय विभागका सहप्राध्यापक कृष्णप्रसाद आचार्यले बताए ।
आदिकवि आचार्यको द्विशतवार्षिक समारोहका अवसरमा भानु प्रतिष्ठानले 'भानुभक्तको रामायणको विशेष संस्करण' प्रकाशन गरेको छ जसको लोकार्पण शुक्रबार भएको थियो। उनका हस्ताक्षरमा आधारित भानुलिपिको विकास गरी 'भानुभक्तको रामायण'को नेपाली मौलिक संस्कृति झल्कने गरीे विशेष संस्करण प्रकाशन गरिएको हो।
यसै उपलक्ष्यमा कवि रत्ननिधि रेग्मी शुक्राचार्यले दुई महिना लगाएर 'भानुभक्तलाई चिठ्ठी ' खण्डकाव्य तयार गरेका छन्। खण्डकाव्यमा 'देवकोटाका अनन्य सेवक' कविले तनहुँ र महाभारतकालीन सन्दर्भ, नेपाली भाषा, सेन वंशको इतिहास, भानुका पुर्खा, तनहुँको सेरोफेरो, देवदेवीस्थल, त्यहाँका साहित्यकारको परिचयका साथ गाउँघरमा अझै सुविधा नपुगेको तथा सहरमा राजनीतिक–आर्थिक–सामाजिक विकृति चरम उत्कर्षमा पुगेको औँल्याएका छन्।
Comments
Post a Comment