निङ्ग‌लासैनी भगवती मन्दिरको ईतिहास, उत्पत्ति, अनुश्रुतिमूलक कथा र पूजाविधिको परम्परा

 निङ्ग‌लासैनी भगवती


बैतडीको दशरथचन्द न.पा.को उपल्लो स्वराडकी देवीका विभिन्न स्वरुपहरूमध्ये देहिमाण्डौंकी निङ्गलासैनी माता पनि एक प्रख्यात भगवती हुन् । देहिमाण्डौंमा निङ्गलाको झाङभित्र देवीको फुटलिङ्ग गाथ (शिला) भएको हुनाले यिनलाई निङ्गलासैनी माताका नामले शक्तिपीठको रूपमा पुज्ने गरिएको छ । यहाँ प्रत्येक महिनाको स‌ङ्क्रान्ति, पूर्णिमा, चैतेदशैं (दशमी), भाद्र चर्तुदशी, आश्विन बडादशैं, पुसको औंशी तथा पूर्णिमामा मेला र पूजा हुन्छ । जीतसिंह भण्डारीका अनुसार यहाँ बाहिरी रेखदेख गर्ने कार्य बोहरा र पुजाराले गरेका छन् भने भित्री गाथमा पण्डा (पालिका भट्ट, सुते गाडी भट्ट, बोग्गाई भट्ट र अरल्या भट्ट) ले पुज्ने प्रचलन रहिआएको छ । देवीको डोला (सिंहासन) पण्डा र भण्डारीहरूले भण्डार घरमा लगिराख्ने र ल्याउने परम्परा अहिलेसम्म यथावत् छ । यस्तै अन्य थरी धामी, रावत, थलाल, आदिहरूले पनि मन्दिरमा आ-आफ्नो कार्य यथावत् गरिराखेका छन् । निङ्गलासैनी भगवतीको काला खामका मुखिया भण्डारी हुन् । "भागेश्वर देउता र नौ बैनी भगवती" भनी ढोलगें ठाडा खेलमा यी निङ्गलासैनीलाई भागेश्वर देउताकी सबैभन्दा जेठी बहिनी हुन् भनेर गीत गाउने चलन पनि रहेको छ ।

निङ्गलाशैनी भगवती मन्दिर 

🔹निङ्ग‌लासैनी मन्दिरको प्राचीन इतिहास🔹

सुदूरपश्चिमका विभिन्न धार्मिक स्थलहरूमध्ये बैतडी जिल्लाको देहिमाण्डौंमा अवस्थित निङ्गलासैनी भगवतीको मन्दिर पनि एक हो । यस मन्दिरको स्थापना १२ औं शताब्दीभन्दा पहिले नै भएको मानिन्छ । यस मन्दिरको स्थापनाका सन्दर्भमा एउटा चर्चित जनश्रुति तथा लोकश्रुति रहेको पाइन्छ । भारतको दुवानगरबाट बसाइँ सरी आएका जनाविचार भट्ट, चतुर ब्रह्मा (चतुऱ्या बोरो), भुनी टेर, दासी हुड्‌के लगायतका विभिन्न व्यक्तिहरू परिवारसहित बसाइँ सर्ने क्रममा वर्तमान नेपालको बैतडी जिल्लाका विभिन्न स्थानहरूमा आएर बसे ।


हालको दसरथ चन्द नगरपालिकाको नौगेडी वन नजिक (हालको देहिमाण्डौँ) चतुरब्रह्माले आफ्नो परिवार बसाले । गुरुखोला पालीमा जनाविचार भट्ट र भुनी टेरको परिवार बस्यो भने स्याडीमा दासी हुड्‌केको परिवार बस्यो । दुबानगरमा बस्दा यी सबै परिवारहरू कुलदेवीका रूपमा भगवतीको पूजाआजा गर्दथे । बसाइँ सरी बैतडीमा आइसकेपछि पनि देवीका मुख्य पर्वहरूमा पूजाका लागि यी सबै परिवारहरू यतैबाट पूजासामग्री लगेर कुलदेवीको पूजाका लागि दुबानगर जाने गर्दथे । केही समय बैतडीबाटै दुवानगर गएर देवीको पूजालाई निरन्तरता दिए । भाद्र महिनाको शुक्ल त्रयोदशीदेखि पूर्णिमासम्म तीन दिन हुने देवीको मुख्य पूजाका लागि उल्लेखित परिवारमा मुख्य व्यक्तिहरू दुवानगर जान लागे । भाद्र महिनाको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव तीव्ररूपमा बढेपछि नदी तर्न नसकेर किनारमै बसिरहे । वर्षा रोकिएर महाकालीको पानी घट्ला र पारी तरौला भन्ने आसमा पूरै दिन बितेछ । पानी घट्नुको साटो अविरल वर्षाका कारण महाकालीको बहाव झन् बढ्न थाल्यो ।


देवी पूजाका लागि जसरी पनि जानुपर्ने तर काली नदी तर्न नसकेपछि राति नदीकै किनार नजिकका ओडारहरूमा ओत लागेर बसिरहे।

सबैले देवी पूजाका लागि पुग्न नसकिने अवस्थाप्रति दुःख व्यक्त गरिरहेका थिए । बरु महाकालीमै हाम फालेर मर्ने तर देवीको पूजा नगरी नफर्कने भन्ने जस्ता कुराकानी गर्दागर्दै निद्रा लागेपछि देवीले सपनामा दर्शन दिएर मेरो पूजाका लागि तिमीहरू यता नआउनु, म तिमीहरू बसेकै ठाउँमा आइसकें, केही समयमा म दर्शन दिनेछु, तिमीहरू घर फर्क भनिन् । यति भइसकेपछि तिनीहरु सबै पूजाको सामग्री सहित खुसी हुँदै घर फर्के । नौगेडी वन (हालको देहिमाण्डौं) नजिक परिवार बसालेका चतुरब्रह्मा (चतुरे बोरो) को घरमा लावड जातिको ग्वालो थियो । ऊ सधैं गाईगोरु लगेर नौगेडीको वनमा चराउँथ्यो । चतुरब्रह्माको घरमा सेतो कालो रङको कपुरा दुहुनु गाई थियो । गाईलाई लगेर ग्वालो सधैं नौगेडी वनमा जान्थ्यो । वन जाने बेलामा उक्त गाईको कल्चौंडो दूधले भरिएको हुन्थ्यो भने घर आउने बेलामा कल्चौंडो रित्तो हुन्थ्यो । गाईको यो अवस्था देखेर चतुरव्रह्माकी श्रीमती अचम्म पर्दथिन् । दैनिक यस्तै अवस्था देखेपछि चतुरव्रह्माकी श्रीमतीले ग्वालालाई बोलाएर भनिन्, “हेर ! बिहान वन जाने बेलामा गाईको कल्चौंडो सधैं दूधले भरिभराउ हुन्छ, साँझ घर आउने बेलामा कल्चौंडो रित्तो हुन्छ ! गाईले बेलुका दूध पनि दिँदैन । तिमीले वनमा गएर कतै गाई दुहेर दूध त खाँदैनौ?” भनेर ग्वालालाई झपार्न लागिन् । आफूले वनमा कहिले पनि दूध दुहेर नखाएको तर गाईको अवस्था हेर्दा उनले भनेजस्तै कल्चौंडो रित्तो हुने देखेर ग्वालो पनि छक्क पर्यो । दोस्रो दिन ग्वालाले आज त म यसको राज पत्ता नलगाई छो‌ड्दिँन भन्ने अठोट लिएर ऊ गाई लगेर वनमा गयो र गाईबाट एक नजर पनि हटाएन ।


सदाझै गाई सरासर गएर नौगेडी वनमा रहेको नि‌ङ्गालाको झ्‌याङमा गएर आफै दुहिन थाल्यो । यस्तो देखेपछि ग्वालो अचम्म पर्दै बल्ल राज पत्ता लाग्यो, अब घरमा गएर सबै कुरा बताउँछु भनी ऊ गाईलाई त्यसै ठाउँमा छोडी दगुरेर घर पुग्यो र हतारिँदै चतुरब्रह्माकी श्रीमतीलाई गाई आफै दुहिएको राज बताउँदै आफ्नै आँखाले हेर्नु भनेर गाई दुहिन लागेको ठाउँमा लग्यो । साँच्चिकै गाई नि‌ङ्गालाको झ्याङमा आफैँ दुहिदै थियो । यो देखेर चतुरब्रह्माकी श्रीमतीलाई रिस उठ्यो र उक्त झ्याङमा हँसिया प्रहार गरिन् । हँसियाको प्रहारले गर्दा उक्त झ्‌याङबाट रगत बगेको देखियो । झ्‌याङबाट रगत बगेको देख्नासाथ ग्वालोले आफूले ओढेको वस्त्रले छोपिदियो । यो अचम्मको घटना देखेर चतुरब्रह्माकी श्रीमती र ग्वालो छक्क परे । त्यसपछि घर आएर चुतरेलाई सबै वृत्तान्त सुनाए । 

उक्त घटना कसरी घटेको हो भन्ने बारे छलफल चलेपछि यो ठाउँमा दुवानगरमा पुज्य हुँदै आएकी कुलदेवी आएकी भन्ने निष्कर्षमा सबैजना पुगे । सबैजना मिलेर उक्त नि‌ङ्गालाको झ्‌याङभित्र रहेको शिलालाई कुलदेवीका रूपमा पूजा गर्न सुरू गरे । नि‌ङ्गालाको झ्‌याङमा मिलेको र त्यसैमा निवास गर्ने देवीका रूपमा त्यसै बेलादेखि नि‌ङ्गलासैनीका नामले पुकारिन थालियो । देवीलाई सबैभन्दा पहिले पाएको र हँसिया प्रहारपछि आफ्नो ओढ्ने वस्त्रले छोपेको हुनाले लावड जातिको ग्वालोलाई नि‌ङ्गलासैनी भगवतीको प्रिय पात्रको रूपमा सम्मान गरिन्छ । चतुरब्रह्माकी श्रीमतीले झाङमा हँसिया प्रहार गरेको घटनाको किंवदन्तीअनुसार हालसम्म पनि देहिमाण्डौँबासी बोहराहरूकी श्रीमतीहरूलाई उक्त मन्दिरको टीका प्रसाद ग्रहण गर्न समेत बर्जित गरिएको छ ।


यस्तो घटना घटिसकेपछि चतुरब्रह्माले देवीसँग क्षमायाचना गर्दै कौडिण्य गोत्रीय जनाविचार भट्ट लगायत आफ्नो सहयात्रीहरूलाई बोलाएर छलफल गरी दुबानगरबाटै आएकी कुलदेवीका रूपमा उक्त नि‌ङ्गालाको झ्‌याङमा रहेको शिलामा हरेक स‌ङ्क्रान्ति, पूर्णिमा र देवीका मुख्य पर्वहरूमा पूजा अर्चना सुरू गरियो । यसरी सर्व शक्तिमान देवीका रूपमा स्वराडदेखि कुमाउँसम्मको सीमाभित्रका मान्छेहरूले विभिन्न भूमिकामा रहेर पूजा अर्चना गर्न थालिएको यस क्षेत्रका पुरानो पुस्ताका मानिसहरूले बताउँछन् । यतिमात्रै नभएर यस मन्दिरमा गौरा तथा जात्रामा गाइने गाथाहरूमा पनि यस मन्दिरको बारेमा वर्णन हुँदै आएको पाइन्छ । उदाहरणको लागि गौरा तथा जात्राहरूमा गाइने भग्गालिङ्ग लयको गाथामा गाइने नि‌ङ्गालाको झ्‌याङमा दुहिएको र देवी मिलेको प्रसङ्ग यसरी प्रस्तुत हुन आउँछ :


ए तिख्या पिपल भग्गालिङ्ग


मेरा गाई धेकिथेइ भग्गालिङ्ग...


वन झानि गाईका भग्गालिङ्ग...


केलाकोसी थुन भग्गालिङ्ग...


घर औनि गाईका भग्गालिङ्ग...


खोसमड़ा थुन भग्गालिङ्ग...




🔹भगवतीको उत्पत्ति🔹

जीतसिंह भण्डारीको पुस्तकमा जर्ग गाउँका हरिदत्त पाण्डेयका अनुसार निङ्गलासैनी भगवतीको उत्पत्तिको बारेमा यसरी वर्णन गरिएको छ ।


झण्डै छ सात सय वर्ष पूर्वको कुरा हो हाल निङ्ग‌लासैनी भगवतीको मन्दिर रहेको देहिमाण्डौं क्षेत्रमा घनघोर जङ्गल रहेको थियो । त्यहाँ वरपर गाउँबाट गाईवस्तुहरू चराउन लैजाने प्रचलन थियो । त्यसै जङ्गलमा एक परिवारको दुहुनो गाईलाई स्थानीय गरिब बालक परिवारको नाबालक गोठालोले चराउन लैजान्थ्यो । एकदिन जङ्गलबाट फर्केपछि त्यस दूहुनो गाईले दूधै दिएन । यो क्रम पटकपटक दोहोरिन पुग्यो । बोहरा परिवार अचम्ममा पर्यो र श‌ङ्का गरी दूध नदिएको कारण पत्ता लगाउन बोहराकी स्वास्नी स्वयम् गाईको पछिपछि जाँदा जङ्गलको एक कुनामा निङ्गलाको बोटसँगै रहेको शिलामाथि गाईले दूध दिएको देखिन् । गाईको यस्तो चालाप्रति कुद्ध हुँदै ती महिलाले निङ्गलाको बोटमा हँसिया बजारिन् । निङ्गलाको फेदबाट एउटा आवाज आयो “मलाई छोप।” यस्तो आवाज सुनी गोठालो आत्तिएर आफूसँग भएको बोदला (भाँगाको रेसाबाट बुनिएको लुगा) ले आवाज निस्केको ठाउँ आई छोपेछ । एकैछिनमा बोदला रगताम्य भएछ । यस्तो आश्चर्यपूर्ण घटनाबारे गोठालाले गाउँमा डाको मच्चायो । सबै गाउँले एकतत्र भएर त्यो कपडा झिकेर हेर्दा भगवती आसन्न भएको भेट्टाए । यसरी निङ्गलाको झाङभित्र प्रकट भएको देवीको नाम निङ्गलासैनी भगवती भनेर पुजित भएको किंवदन्ती छ । त्यसपछि सबै गण्यमान्य, ब्राह्मण, ठकुरी र क्षेत्रीहरूको बैठक बस्यो । त्यस समाजले पाली गाउँका भट्ट एक जना, जोशी गाउँका जोशी एकजना र सोतेगाडका भट्ट २ जना गरी चार जना पुजारी र एकजना नायक (क्षेत्री) थरको धामी राखी ३२ रैण्या (चालिस माना) चामलको अक्षता र गाईको दूध चढाएर पूजा गर्ने निर्णय गरेका हुन् । निङ्गलाको बोटमाथि हँसिया प्रहार गरेको हुनाले बोहराकी श्रीमतीलाई हालसम्म पनि मन्दिरमा जान, मेला वा जात्रा हेर्न तथा माता निङ्गलासैनीको टीका प्रसाद ग्रहण गर्न रोक (बन्देज) लगाइएको छ ।




🔹अनुश्रुतिमूलक कथाहरू🔹


१. अठौती मल्ल र खोपऱ्या दैत्यको सन्दर्भमा दिदी निङ्गलासैनी र बहिनी रैण्यासैनी एक भए


निङ्गलासैनी भगवतीको इतिहाससँग जोडिने अठौती मल्ल र खोपऱ्या दैत्यको प्रसङ्ग भएका कथा र त्यसैसँग सम्बन्धित गाथाहरू पनि डोट्‌याली लोकसाहित्य एवम् समुदायमा प्रचलित रहेका छन् । एक समयमा एकदमै बलिया अठौती मल्ल र खोपऱ्या दैत्यले मलासदेखि वर्तमान भारतको उत्तराखण्ड हुँदै बैतडीसम्मका देवीदेवताहरूसँग युद्ध गरेको र बैतडीमा पुगेपछि यस क्षेत्रका देवीदेवताहरूसँग युद्धमा पराजित भएर मरेको प्रसङ्ग पनि यस क्षेत्रमा गाइने गाथाहरूमा आउने गर्दछ । अठौती र खोपऱ्या मलासदेखि झुलाघाटसम्म पुग्दा देवताहरूसँग युद्ध गर्दै उनीहरूलाई पराजित गरेको र झुलाघाट पुगेपछि नदी तराउने मान्छेलाई अब म बैतडीमा जान चाहन्छु र त्यहाका देवीदेवताहरूसँग युद्ध गर्छु भन्ने मनसाय गर्दा नदी तराउने मान्छेले "त्यस ठाउँमा तिमी युद्ध गर्न नजाऊ त्यस क्षेत्रमा ठूलाठूला शक्तिवान् देवीदेवताहरू रहेका र युद्धमा तिमी पराजित हुनेछौ” भनेको प्रसङ्ग लोक गाथाहरूमा यसरी आउँछ :


जनचलइ अठौती स्वराड गड


बडाबडा देउछन् स्वराड गड


यति भनेको नमानेपछि अठौतीले बैतडी क्षेत्रका देवीदेवताहरूसँग युद्धका लागि आफू आएको समाचार पठाउँछन् । अठौती र खोपऱ्या कालीपारिका सबै देवताहरूलाई जितेर आफूसँग लड्न आएको समाचार बैतडी क्षेत्रका देवताहरूले सुनेपछि बहिनी रैण्यासैनी भगवती (त्रिपुरासुन्दरी) दिदी निङ्गलासैनी कहाँ आएर सल्लाह गरेको प्रसङ्ग अठौती मल्लको गाथामा यसरी आउँछ :


दिदी निङ्गलासैनी मेरो बोल लेन


बलियाकि साडी आइछ पिठी आडो देन


तोखिलेखा बलियो छ मुखिलेखा केइन


झल्यामल्या गावडिको बेल्या भरी घिउँ


एई मेरी स्वराड छन न दिउँ


यसरी रैण्यासैनी र निङ्ग‌लासैनीले सल्लाह गरेपछि यस बैतडी र स्वराड क्षेत्रका सम्पूर्ण देवीदेवताहरूलाई बोलाएर बैतडीको झौलेकमा असमीकेदार (सस्या) देवताको नेतृत्वमा सभा बसालेर अठौतीलाई कसरी मार्ने भन्ने विषयमा छलफल गरिएको प्रसङ्ग गाथाहरूमा यसरी आउँछ :


खेड्यामेड्या कटकको झौलेक ठाउँ सैपाल सुरपाल सस्याका बाग सैपाल सुरपाल लडाकु पुरा खोपऱ्या मार्यो सल्म्या धुरा...


यसरी सबै देवीदेवताहरूले छलफल गरी अठौती र खोपऱ्यासँग युद्ध गरेको र अठौतीलाई निङ्ग‌लासैनी को गैरचारी (रणक्षेत्र युद्ध मैदान) मा दबाएको र खोपऱ्यालाई सैपार, सुरपाल आदि देवताहरूले सुर्काकालमा हालको असमीकेदार मन्दिरको माथि सल्म्या धुराको ओडारमा छिराएर मारेको लोकगाथा र किंवदन्ती रहेको छ ।


२. ग्वाल्लेक केदार र निङ्गलासैनी (दाइ र बहिनीको नाता)

यसरी अठौती र खोपाऱ्यासँगको युद्धमा महत्वपूर्ण भूमिका खेलेको हुनाले ग्वाल्लेक केदारले निङ्गलासैनीलाई बहिनीको रूपमा सम्मान गर्दै नाता कायम गरे। ग्वाल्लेक केदारले बहिनीलाई दद्यारका वृक्षहरू उपहार दिएको हुनाले ग्वाल्लेकको जङ्गलमा द्यारका रूखहरू अहिलेसम्म पनि पाइदैनन् ।


३. निङ्गलासैनी र अजयमेरुकोट डोटी राज्यका राजा नागी मल्ल

निङ्गलासैनीसँग जोडिएको अर्को महत्वपूर्ण गाथामा अजयमेरुकोट डोटी राज्यका राजा नागी मल्लले आफ्नो राज्यभित्रका देवताहरूको शक्तिपरीक्षण गर्दै शक्ति नभएका देवता मन्दिरहरू भत्काउने र शक्तिवान् देवताहरूलाई चिनोबानो दिने गरेको किंवदन्ती र गाथा पनि डोट्याली लोकसमुदायमा रहेको छ ।


देवताहरूको शक्तिपरीक्षणका क्रममा राजा नागी मल्ल बैतडी देहिमाण्डौंमा रहेको निङ्गलासैनी मन्दिरमा गएर देवीको बारेमा सोधपुछ गरेको र यदि सर्वशक्तिवान् देवी भए मैले चाहेको पूरा गरोस् भन्दा राजाले सोचेबमोजिमको चमत्कार भएपछि एउटा ठूलो घण्टी मन्दिरमा चढाएर गएको र उक्त घण्टी अझै पनि देवीको मन्दिरमा सुरक्षित रहेको छ । देवीको मुख्य पूजा लाग्ने बेलामा उक्त घन्टी बजाइने गरिन्छ । डोटीका राजा नागी मल्ले देवीको बारेमा सोधेको र यदि सर्वशक्तिवान् देवी भए मन्दिरमा रहेको नि‌ङ्गालो, गड्डुवा, भोग तथा मान्छे आफै कम्पन होस् भन्दा त्यही अनुरूप भएको प्रसङ्ग देवीको मन्दिरमा गाइने गाथामा यसरी आउँछ :


डोटी अजयमेरु साइ राज माता पुछ्न लाग्या बात...... ततनी छै त निङलाडि दुर्गा निङलोइ कामी झान औतरि गैन निङलाडि दुर्गा निङलोइ कामी गैछ ....


यस क्षेत्रमा हालको निङ्गलासैनी मन्दिर नजिकै केदार देवता रहेको र देवी आएपछि बलि हुन थालेपछि केदार देवता त्यो ठाउँ छोडेर दसरथचन्द नगरपालिकाकै जर्गमा गएको पुरानो पुस्ताले बताउँछन् । देहिमाण्डौंमा हाल पनि जर्गको माथिल्लो डाँडामा केदार छिरेको गुफा भनेर प्रसिद्ध छ । अझैपनि देवीको सवारी हुँदा देवीले देउडुङरीमा गएर केदार देवताको दर्शन गर्ने कुरा बूढापाकाहरूले बताउँछन् । देवीको चलो (सवारी) जाँदा देवीका धामी कामेर केदार देवताको दर्शन आराधना गर्ने गर्दछन् ।


४. निङ्ग‌लासैनी र मेलौली भगवती बीचको सम्बन्धमा नायक थर

आजभन्दा करिब १५० वर्ष अगाडि तल्लोस्वराड़को मेलौली क्षेत्रमा महामारी चलेको थियो । उक्त महामारी रोक्नका लागि मेलौली निवासी एकजना नायक थरका मान्छे निङ्गलासैनीमा आएका थिए । त्यहाँ धामी कमाएर उक्त महामारी हटाउनका लागि बिन्ती प्रार्थना गर्दा धामी कामेर महामारी रोक्ने वचन दिएका थिए। देवीले भनेबमोजिम महामारी रोकिएकाले निङ्गलासैनीमा बलिका लागि राँगो ल्याउँदै गर्दा मेलौली भगवतीले राँगा आफ्नो मन्दिरको थलोमा पुग्नेबित्तिकै त्यहीँ रोकिएको थियो । राँगो कुनै हालतमा पनि निङ्गलासैनीमा ल्याउन नसक्दा नायक थरका मान्छे निङ्गलासैनीमा आएर राँगो ल्याउन सकेन के गरौं भनी धामीलाई सोधपुछ गरी देवीसँग बिन्ती गर्दा "बैनीले चारखुट्या रोक्यो, मुइ दोखुट्या रोक्कउ" भनेर नायकलाई त्यसै ठाउँमा रोकेको र त्यो दिनदेखि देवी त्यसैमा सवार भएको हुँदा नायक देवीको मुख्य कर्मचारी धामीका रूपमा त्यसै ठाउँमा बसेको पाइन्छ । उक्त परिवार हाल देहिमाण्डौंको रेला भन्ने ठाउँमा बसोबास गर्दछन् । मेलौली भगवतीको मन्दिर प्राङ्गण धेरै ठूलो रहेको छ । उक्त समयमा निङ्गलासैनीको शक्ति र चहलपहलका कारण मेलौली भगवतीले "दिदीजसी चौण, मेरी जसी थल" भन्ने भन्छिन् भन्ने किंवदन्ती तथा उखान पनि बूढापाकाहरूले सुनाउँछन् ।




🔹पूजाविधिको परम्परा🔹


यस मन्दिरमा हरेक स‌ङ्क्रान्ति र पूर्णिमामा पूजा लाग्ने गर्दछ भनी वर्षमा चारपटक महत्वपूर्ण मेला लाग्ने गर्दछन् । श्रावण र माघ महिनामा देवीको नित्य अभिषेक पनि हुने गर्दछ । यस मन्दिरका प्रमुख मेलाहरूमा पितृपक्ष सुरु हुनुअघिको भाद्र शुक्ल द्वादशीदेखि पूर्णिमासम्मको चारदिने मेला जसलाई तेरत्याकी जाँत, नानी जाँत, ठूली जाँत र पनिउँकी जाँत, असोजको नवरात्री घटस्थापनादेखि विजयादशमीसम्म, मङ्सिर शुक्ल पूर्णिमामा लाग्न जमानी जाँत र चैत्र महिनाको नवरात्र अष्टमी जाँत महत्वपूर्ण हुन् ।


भाद्र महिनाको चार दिने जाँतमा बैतडी क्षेत्र र स्वराड़ क्षेत्रका चन्द राजाहरूले चतुर्दशीको ठूलीजाँतमा बाजा गाजासहित जात्रा ल्याउने र देवीको दर्शन गर्ने गर्दछन् । पहिले पहिले बैतडीको जोशीबुडाबाट पनि जोशी र पन्तहरूले पनि जात्रा ल्याउने गर्दथे । मन्दिरमा जात्रा घुमाउने सन्दर्भमा भएको वादविवादका कारण देवी र केदार देवताको धामी कामेर जात्रा रोकेको बुढापाकाहरूले बताउँछन् । असोजको महाअष्ठमी र चैत्राष्ठमीका दिन यस मन्दिरमा राँगा र बोकाको बलि हुने गर्दछ भने मङ्सिर पूर्णिमामा हुने जमानी जात्रामा भने बलि हुने गर्दैन । यस मन्दिरमा बलि हुने दिनमा यस क्षेत्रका अन्य शिवालयहरू बन्द रहने र त्यो दिन ती मन्दिरहरूमा पूजा लाग्दैन ।


यस मन्दिरको मुख्य व्यक्तिका रूपमा देहिमाडौँवासी चतुरब्रह्माका सन्तानहरू रहेका छन् । देवीले यस क्षेत्रको न्याय निशाफका लागि रजबारको पदवी प्रदान गरेको छ। हाण्णी लौडी बाद्दी डोरी (हान्नल लठ्ठीः बाँध्ने डोरी) सुम्पेकाले बोहराहरूलाई रजबारको रूपमा सम्मान गरिन्छ । देवीको मन्दिरमा पूजाका कर्ममा कालोखाममा बसेर मुख्य कर्ताका रूपमा पूजा गर्ने र देवीको पहिलो टीका रजबारका रूपमा रजबार मुखियालाई लाग्ने गर्दछ । देवीका प्रथम पुजारीका रूपमा जनाविचार भट्टका सन्तानहरूले पूजा लाउँदै आइरहेको पाइन्छ । त्यसै गरी बोग्गाउ, सुतेगाड निवासी भट्ट र अराली निवासी जोशी गरी चार पुजारीहरूले यस मन्दिरमा पूजा लगाउने गर्दछन् । निङ्गलासैनी भगवतीलाई जगत्‌जननीको रूपमा हरेक क्षेत्रका मानिसहरूले पूजा अर्चना गर्ने गर्दछन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण देहिमाडौँमा रहेको यो भव्य र पवित्र धार्मिक स्थलमा टाढाटाढाबाट भक्तजनहरू आउने गर्दछन् । विशेष गरी भारतको पिथौरागढदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाका मानिसहरू यस मन्दिरमा आएर पूजा अर्चना गर्ने गर्दछन् ।


चारैतिर पहाड बीचमा सम्म परेको स्थानमा देवीको प्राचीन मन्दिर, मन्दिरको दक्षिणपट्टि ठूलो मैदान मन्दिरको अगाडि हिङ्गलो (पिङ) ले उक्त ठाउँलाई अझ सुन्दर पारेको छ । मन्दिरमा रहेका प्राचीन, धार्मिक तथा ऐतिहासिक महत्त्वका थुप्रै चिजवस्तुहरू रहेका छन् । प्राचीन शिलालेख,ताम्रपत्र, प्राचीन मूर्तिहरू, प्राचीन तथा वर्तमानमा चढाएका घन्ट लगायत विभिन्न किसिमका प्राचीन बाजा गाजाहरूसमेत रहेका छन् । देवीका परम्परागत गरगहना र भाँडाकुँडाहरू रहेको यो मन्दिर सुदूरपश्चिमकोमात्र  नभएर नेपालकै एक महत्त्वपूर्ण मन्दिरको रूपमा रहेको छ । यस्तो प्राचीन महत्त्व बोकेको निङ्गलासैनी मन्दिर धार्मिक तथा अन्य पर्यटनका लागि एक महत्त्वपूर्ण गन्तव्य बन्न पुगेको छ । यसको संरक्षण, सम्बर्द्धन तथा प्रचार प्रसार कार्य राज्य तथा हामी सबैको साझा कर्तव्य हो । (स्रोतः कविराज भट्ट)


जीतसिंह भण्डारीले आफ्‌नो पुस्तकमा रहेको डा. हरिदत्त पाण्डेयको लेखअनुसार नियमित पूजा बाहेक यस नि‌ङ्गलासैनी भगवतीको मन्दिरमा बर्सेनि तलका ४ वटा मेलाहरू लाग्ने गर्दछन् :-


१. ठूली जाँत (देही जात)


२. असौज्या नौर्ता (शारदीय नवरात्रि)


३. जमानी जाँत


४. चैत्या नौर्ता (वासन्तिक नवरात्रि)


जमानी नचाउँदै चौलोमा संलग्न लखडहरूले कनदेउ घूरातर्फ जाँदा र रजबारहरूलाई सराप्ने गर्दछन् भने कनदेउमा चौलो पुऱ्याई फर्कदा उनीहरूको लागि आशीर्वचन पुकार्ने गर्दछन् । चौलो मन्दिरमा पुगेपछि यो जात्रा समापन हुन्छ ।



१. ठूली जाँत (देही जाँत)

भाद्र शुक्ल द्वादशीदेखि पूर्णिमासम्म सञ्चालन हुन्छ । यो ठूली जाँतलाई "ताका जाँत" वा "देही जाँत" भन्ने पनि गरिन्छ । यस जाँतमा हजारौं नरनारीहरूको उपस्थिति रहन्छ । लोक संस्कृतिको महिमा र गौरव बढाउन यस मेलाले ठूलो टेवा पुऱ्याएको छ । स्वराड क्षेत्र र बैतडी क्षेत्रका चन्द ठकुरीहरूको बेग्लाबेग्लै जाँत (जात्रा) आउने गर्दछ । विशेषगरी चतुर्दशीको यस मेलामा जात्रा भरिने खास समयमा (अपरान्हमा) टण्टलापुर घाम लागेको भएपनि दुवै क्षेत्रबाट ल्याएका जाँतहरू मन्दिरमा पुग्ने बेलामा प्रत्येक वर्ष आकाशमा अनायास कुहिरो लाग्ने भयबाट निङ्गलासैनीका शक्तिको प्रत्यक्ष अनुभूति गर्न सकिन्छ ।


२. असौज्या नौर्ता (शारदीय नवरात्रि)

घटस्थापनादेखि बडा दशैको दिनसम्म यो सञ्चालन हुन्छ । अठसठ्ठी जाँतका नामले प्रख्यात यस जाँतमा अष्टमीका दिन कम्तीमा ६८ प्राणीको बलि दिनुपर्ने परम्परा छ । सङ्ख्या नपुग्ने अवस्थामा नरिवल र कुभिण्डोका बलि दिइन्छ । अचेल महाष्टमीका दिन माताको मन्दिरमा हजारौं बोकाहरू र ३/४ सय राँगाहरूको बलि गरिन्छ । टाढाटाढाबाट ल्याएका बोका तथा राँगाहरू कारणबस सो दिन बलि सुरु हुनु अगावै मन्दिर परिसरमा पुऱ्याउन नसकेमा बडा दशैंको दिनमा पनि ती प्राणीहरूको बलि चढाइन्छ । दशैंको दिन जमरा ग्रहण गरेपछि यो जात्रा समापन हुन्छ ।


३. जमानी जाँत

यो मेला मङ्सिर शुक्ल चतुर्दशीदेखि पूर्णिमासम्म २ दिन सञ्चालन हुन्छ । यस पर्वमा कपडा बेरेर बनाएको जमानी नचाइने हुँदा यसलाई जमानी जाँत भनिएको हो । पूर्णिमाका दिन जमानीलाई नचाइदै नचाइँदै दक्षिण कनलदेउ धूरासम्म चौलो पुऱ्याएर ग्वाल्लेक केदारको दर्शन गर्नु मानिन्छ ।


8. चैत्या नौर्ता (वासन्तिक नवरात्रि)

चैत्र शुक्ल प्रतिपदाको दिनदेखि दशमीको तिथिसम्म मन्दिरको ढोका खुल्ला राखेर ४ जना पुजारीसहित १२ जना ब्राह्मणबाट जौं तिलको हवन हुन्छ । प्रत्येक दिन मन्दिरमा चारैजना पुजारी, धामी तथा अन्य कार्यकर्ताले दश दिनसम्म एकाहार उपवास व्रत लिएका हुन्छन् । प्रत्येक दिन मन्दिर लिपपोत गरिन्छ एवम् पञ्च पूर्वाङ्ग हुन्छ । गणेश पुजिन्छुन्, धूपबत्ती बालिन्छ । अष्टमी र दशमीका दिनमा बोका, राँगा, नरिवल र कुभिण्डोको बलि दिइन्छ । प्रतिपदाको दिन देखि दशमीसम्म भाकल चढाउने काम दशमीको सन्ध्या कालमा ढोका बन्द भएपछि मेला समापन हुन्छ ।


साभारः डा. डम्बरराज पाण्डेयद्वारा लेखिएको पुस्तक "सुदूरपश्चिमका प्रख्यात शक्तिपीठहरू" पुस्तकबाट साभार गरिएको

Post by :Sunit Bhatt



 

Comments

Popular posts from this blog

गोठलापानीबाट झुलाघाट जादै गरेको जिप दुर्घटनामा मृत्यु तथा घाईते सबैको परिचय खुल्यो

बैतडीमा कोदालो प्रहार गरी १ जनाको हत्या र २ जना घाइते